विराटनगर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रीले पनि राजिनामा दिनु पर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, सरकारका सबै मन्त्री र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्चका सबै न्यायाधीशहरू राजीनामा दिनुपर्ने बताएका हुन् ।
‘जुन दिन असंवैधानिक फैसला गरियो र त्यही फैसलाका आधारमा प्रतिनिधिसभाको पुनर्स्थापना गरियो, त्यही दिनदेखि प्रधान न्यायाधीश, फैसला गर्ने अन्य न्यायाधीश राजीनामाका लागि योग्य हुनुभयो,’ अध्यक्ष ओलीले भने, ‘सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो, परिवर्तन गर्ने होइन। तर, यहाँ त संवैधानिक अधिकारभन्दा बाहिर गएर मनपरी र मनलाग्दी ढङ्गले व्याख्या गरिएको छ।’
ओलीले एमसीसी पारित गर्न देउवाले पत्र लेखेको र प्रचण्डले नलेखेको बताएर दुईमध्ये एकले झुट बोलेको समेत बताएका छन् ।
‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ,’ ओलीले भने, ‘दुईमध्ये एक जनाले झुट बोलेको देखियो ।’






































