काठमाडौँ / राष्ट्रियसभाका उपाध्यक्षसहित २० जना सदस्यको पदावधि आगामी फागुन २१ गते सकिँदैछ ।
वि.सं. २०७५ असार ४ गते भएको गोला प्रथाद्धारा चारवर्षे पदावधि कायम भएका २० जना सदस्यको पदावधि सकिन लागेको हो ।
चार वर्षे पदावधि सकिनेमा सात महिला, तीन दलित समुदाय, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट दुई र अन्य समुदायका सात सदस्य छन् ।
उपाध्यक्ष शशिकला दाहाल, विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी, परशुराम मेघी गुरुङ, अगमप्रसाद बान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवरको चारवर्षे पदावधि सकिन लागेको हो ।
नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ कार्यकाल समाप्त हुनेछ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् ।
सरकारले राजनीतिक दलको सहमतिमा एकतिहाइ सदस्यको रिक्त हुने पदका लागि निकट भविष्यमै निर्वाचनको मिति घोषणा गर्ने यसअघि नै जनाइसकेको छ । सदस्यको पदावधि समाप्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
विसं २०७४ भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) २७, नेपाली कांग्रेस १३, नेकपा (माओवादी केन्द्र) १२ तथा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमले दुई/दुई सिटमा विजयी हासिल गरेका थिए ।