विराटनगर / सरकारले तीन वटा प्रदेश प्रमुखहरु परिवर्तन गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको हो ।
सरकारले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदुरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
सरकारले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई बर्खास्त गर्दै उनको स्थानमा जनता समाजवादी पार्टीका नेता तथा पुर्व सांसद पर्शुराम खापुङलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
कर्णालीको प्रदेश प्रमुखमा सिफारिस भएका परियार यसअघि प्रदेश २ को प्रमुख थिए । माओवादी केन्द्र निकट उनलाई यसअघि केपी ओली सरकारले बर्खास्त गरेको थियो ।