काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दैछ । 

महाधिवेशनका लागि आज छानिएका प्रतिनिधिले आगामी मंसिर १० देखि १२ गते चितवनमा हुने १० औँ महाधिवेशनमा अध्यक्षसहित २२५ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछन् । 

सङ्गठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुनेछन्। त्यसका लागि देशभर आज एकैसाथ एमालेले चुनाव गर्नेछ। एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन् ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार साँझ महाधिवेशन प्रतिनिधि छनोट गर्दा उच्च समझदारी अपनाउन आव्हान गरेका छन् ।

सुदूरपश्चिम लगायतका केही स्थानमा भने जथाभावी सदस्यता वितरण गरेको भन्दै नेताहरूले असन्तुष्टि जनाइरहेका छन् । 

तीनवटा विधिबाट महाधिवेशन प्रतिनिधि छान्ने व्यवस्था गरेको एमालेले कतिपय जिल्लामा यसअघि नै सर्वसम्मत प्रतिनिधि चयन भइसकेको जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय सङ्गठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना चयन गर्ने व्यवस्था छ । 

एमालेले नारायण नदीको किनारामा उद्घाटन र सौराहामा नेतृत्व छनौटको कार्यक्रम सञ्चालन गर्ने गरी तयारी गरेको छ । महाधिवेशनले १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्नेछ । 

जसले आगामी ५ वर्ष एमालेको नेतृत्व गर्नेछ । शुक्रबार मात्रै १० औं राष्ट्रिय महाधिवेशनको लोगो पार्टी महासचिव ईश्वर पोखरेलले सार्वजनिक गरेका छन् ।