काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीका नेताहरूको नीतिगत बहसभन्दा नेतृत्वकै वढी चर्चा हुने गरेको छ ।
पार्टीका नेताहरूले केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय रहे पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा भने अहिलेसम्म पार्टीको केन्द्रीय समितिमा छलफल सुरु नै गरेका छैनन् ।
पार्टीका नेताहरूले महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो पक्ष बलियो बनाउन विभिन्न समूहगत बैठक, लन्च तथा डिनर मिटिङ दैनिकजसो चलिरहे पनि पार्टीले तय गर्नुपर्ने राजनीतिक, आर्थिक, साङ्गठनिक नीतिका विषयमा भने ध्यान दिएका छैनन् ।
महाधिवेशनमा नीति र नेतृत्व दुवैको निर्वाचन एकै पटक भएकाले धेरैको ध्यान नेतृत्व चयनमा पुग्ने भएकाले नीतिगत बहस ओझेलमा पर्ने गरेको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनले यस पटक पनि विगत स्तो राजनीतिक, आर्थिक साङ्गठनिक सबै खालको प्रतिवेदन पार्टीले तयार पारी महाधिवेशनमा प्रस्तुत गरिने जानकारी दिए । पार्टीको महासमिति बैठकमा बरु नीतिगत बहस चर्को रूपमा हुने गरेको उनी बताउँछन् ।
महासमिति बैठकमा निर्वाचन नहुने भएकाले नीतिगत बहस प्रभावकारी खालको हुने गरेको अनुभव नेताहरूको छ ।
विगत जस्तो सरोकारवालाहरूसित राय सुझाव लिने तथा जिल्ला जिल्लासम्म पार्टीका विभिन्न प्रतिवेदनका विषयका बहस गरिने सम्भावना यस पटक न्यून रहेको जनाइएको छ ।
विगतका महाधिवेशनमा यस खालको अभ्यास गर्ने गरिएको भए पनि यस पटक कुनै छनक नदेखिएको कांग्रेसका काभ्रेका सभापति मधु आचार्य बताउँछन् ।
महाधिवेशन आउनुअघि विभिन्न नीतिगत विषयमा समितिहरू बनाएर जिल्ला जिल्लामा सुझाव लिने परम्परा विगतको महाधिवेशनमा थियो । तर यसपटक त्यसको अभाव देखिएको छैन ।
नेपालमा सहमतिको माध्यमबाट संविधान जारी गरेर राजनीतिक विषयको टुङ्गो लगाए पनि समावेशी र समृद्धिका खाका समेटिएको कार्यक्रम कांग्रेसले तयार गर्नुपर्नेमा नेताहरूको जोड छ ।