काठमाडौं / नेपाली कांग्रेसका रोकिएका अधिवेशनहरू आजदेखि सुरु हुँदैछ । आज कांग्रेसको १० जिल्लामा वडा अधिवेशन हुने भएको हो ।
कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेकोमा दश जिल्लामा आज अधिवेशन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार आज डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, रौतहटमा वडा अधिवेशन हुने र सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने महाधिवेशनको कार्यतालिकामा उल्लेख छ ।
तर वडा अधिवेशन हुन बाँकी रहेको पर्सा, सर्लाही र रसुवामा भने आज अधिवेशन नहुने समितिले जनाएको छ ।
क्रियाशील सदस्यता विवाद टुंग्याउन ढिलाइ भएका कारण प्रदेश दुईका आठसहित १३ जिल्लामा वडा अधिवेशन ढिलो गरी सुरु भएको हो ।
कांग्रेसको ४६ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ भने हिमाली १३ जिल्लामा जिल्ला आधिवेशन सम्पन्न भइसकेको छ ।
कांग्रेसको १४ औं महाधिवेशन महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।