काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पत्रकारहरूलाई रक्सी नखाई निष्ठावान् बनेर पत्रकारिताको धर्म निभाउन सुझाव दिएका छन् ।
शनिबार काठमाडौँमा आयोजित पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पत्रकारहरूलाई सो सुझाव दिएका हुन् ।
‘पत्रकार साथिहरुले साँझ पर्ने बितीकै होटल नधाई र निष्ठावान् बनेर पत्रकारिताको धर्म निभाउनुस् ।’ अध्यक्ष नेपालले भने, – ‘पत्रकार भनेको जनतालाई सुसुचित गर्ने काम मात्रै होइन देशलाई मार्गदर्शन गर्ने माध्यम हुनुपर्छ ।’
अध्यक्ष नेपालले पत्रकारले प्रतिगामी तत्त्वहरूको जरो उखेल्नु पर्ने र गलत प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताएका छन् । पत्रकारहरूलाई उनले समाजमा भएका राम्रो कामको उत्खनन् गर्ने र गलत कामको भण्डाफोर गर्नुपर्ने सुझाएका छन् ।
राष्ट्रिय एकताको पक्षमा कलम चलाउँदै अनुचित काम गर्नेलाई नछाड्न पनि सुझाब दिएका छन् । उनले भने, – ‘समाजवादी आदर्शबाट अगाडि बढ्नु । गलत कामको गलत भन्नुस् । पत्रकारिताको राम्रो आचरण विकास गर्नुस् ।’
देशमा विभिन्न किसिमका भ्रष्टाचार, शोषण उत्पीडन र विकृति विसंगति मौलाइरहेको बताए । पत्रकारहरूले पनि त्यसखालका विकृति विसंगतिविरुद्ध कलम चलाउनुपर्नेमा अध्यक्ष नेपालले जोड दिए ।