चितवन / नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरूलाई लक्षित गरी सौराहाका व्यवसायीले ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । 

स्थानीय व्यवसायीले एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि छुट दिने घोषणा गरेका हुन् ।

एमालेले महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने भएको छ । 

एमाले महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि होटेल व्यवसायीहरूले मंसिर ९ गतेदेखि १३ गतेसम्म सौराहामा हुने गोष्ठी, विवाह, सेमिनार लगायतका अन्य सबै कार्यक्रमहरू स्थगित गरेका छन् ।

एमालेले बुक गरेका होटलमा ५० प्रतिशतसम्म छुट दिइएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । बिहानको नास्ता र बेलुकाको खानाको दर र मेनु सबै होटलमा एकै प्रकारको गरिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष भट्टराईले बताए ।

होटलको स्तर अनुसार कोठालाई ए, बी र सी गरेर वर्गीकरण गरिएको छ । एमाले प्रतिनिधिहरूलाई बेलुकाको खाना र बिहानको नास्ता बसेकै होटलमा खुवाउने तय भएको छ । बिहानको खाना भने बन्दसत्र हुने होटलमा नै प्रबन्ध मिलाइएको छ ।

सवारी साधन पार्किङका लागि दुई बिघा क्षेत्रफलमा व्यवस्थापन गरिँदैछ । होटलमा बास बस्नेलाई सवारी साधन त्यहीँ राख्न र हिँडेर बन्दसत्र स्थलसम्म जान भन्ने सूचना व्यवसायीहरूले दिने होटल सञ्चालक माधव दवाडीले बताए ।