मुलुकमा उत्पादित विद्युत स्वदेशमा खपत र भारतमा निर्यात हुन नसकेर मुलुकलाई दैनिक करोडौं रुपैयाँ नोक्सान भइरहेको वेला भएको पेट्रोलिय पदार्थको मूल्यवृद्धिका विषयमा यतिबेला देशभर आन्दोलन भइरहेको छ । 

पेट्रोलियम पदार्थ तेल र ग्यासको विकल्पका रुपमा विध्युतिय सामाग्री र साधनको प्रयोग बढाउन ऊर्जामन्त्री पम्फा भूषालले नागरिकलाई अपिल गरिरहेका बेला राजनीतिक दल भने भारतसँगको व्यापार घाटा कम गराउन पाएको यो मौका उपयोग गर्न छाडेर आन्दोलनमा होमिएका छन् । सत्तारुढ दल सहितका राजनितीक दल सम्वद्ध युवा विद्यार्थी र वर्तमान व्यवस्थाकै विरुद्धमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी यतिबेला सडक आन्दोलनमा छन् । 

देशकै विजुली खेर जाँदा मुलुकले नोक्सानी व्यहोरीरहेका वेला राजनीतिक दल भने आफ्नो दलसम्वद्ध नेता कार्यकर्ता र समर्थकलाई नेपालकै अर्थतन्त्र वदल्न सक्ने सम्भावना बोकेको विध्युतिय सामाग्रीको उपयोगका लागि आव्हान गर्नुपर्नेमा आन्दोलनमा होमिएका छन् । मुलुकको अर्थतन्त्र नै कायापलट हुने गरी मूल्यवृद्धिले कोरिदिएको बाटो हिड्‌न राजनीतिक दल भने तयार देखिएका छैनन् ।

मुलुकलाई आत्मनिर्भर बनाउने एजेण्डा बोकेर आन्दोलनमा जुटेका राजनीतिक दल र तिनका कार्यकर्ताले आफ्नो भान्सा देखि आफूले प्रयोग गर्ने सवारीसाधन सम्म विध्युतिय सामाग्रीको उपयोग गरिदिने मात्रै हो भने पनि मुलुकले अहिलेकै अवस्थामा पनि करिव एक खर्ब रुपैयाँ हाराहारीमा भारत जाने पैसा जोगाउन सक्ने अवस्था रहेको छ । 

नेपाललाई आत्मनिर्भर बनाउनका लागि अन्तराष्ट्रिय बजार र छिमेकी मुलुक भारतले इन्धनमा गरेको मूल्यवृद्धिले दिएको मौका उपयोग गर्नुपर्नेमा आन्दोलनमा जुटेका मध्ये नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आह्वान आज नेपाल बन्द भएको छ । बन्दको देशभर प्रभाव परेको छ भने देशलाई बन्दका कारण करोडौं रुपैयाँ क्षति पुग्ने देखिएको छ । 

विप्लव समुहको बन्दको प्रभाव भने प्रदेश एकमा आंशिक मात्रै परेको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी ठप्प छन् भने बजार, पसल, उद्योगलगायत खुल्न सकेका छैनन् । पूर्वी नेपालमा सार्वजनिक  यातायात साधन नचल्दा नागरिकलाई हैरानी भएको छ । तर अन्य सवारी साधन भने फाटफुट रुपमा चलेका छन् ।