न्यायालयको आडमा अनुचित लाभ लिएको र भ्रष्टाचारमा संलग्न रहेको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विरोधमा जारी आन्दोलन दबाउन लाखौं रुपैयाँ खर्च गरेको सार्वजनिक भएको छ । उनको पद जोगाउनका लागि नागरिक समूहका नाममा भइरहेको आन्दोलनमा सहभागि बनेकालाई पैसा दिएर ल्याइएको सार्वजनिक भएको हो ।
स्वतन्त्र न्यायपालिका बचाउन भन्दै काठमाण्डौका सडकमा भईरहेका आन्दोलनमा सहभागीलाई नगदै रुपैयाँ दिइरहेको भिडियो सामाजिक संजालबाट सार्वजनिक भएको छ । विगतमा राजनीतिक दलसँग मिलेर न्यायालयको गरिमा नै धुलिसाप हुने गरी फैसला गर्दै आएका चोलेन्द्रको पक्षमा ठूला राजनीतिक दल उभिएपछि उनले कानुन व्यवसायीको जारी आन्दोलन दबाउन नागरिकलाई पैसा दिएर सडकमा उतारेको पाइएको हो ।
चोलेन्द्र विरुद्धको आन्दोलन उत्कर्ष तर्फ लागेका बेला सर्वोच्च अदालत र माइतीघर मण्डलामा नागरिक समुहका नाममा सुरु भएको आन्दोलन र प्रदर्शनमा सहभागिलाई प्रतिव्यक्ति ४ सय रुपैंया देखि १ हजार रुपैंया सम्म दिएको सार्वजनिक भएको भिडियोमा देखिन्छ ।
सहभागिलाई पैसा दिनका लागि उनीहरुले नजिकका पसलमा पैसा साटेको सम्म भिडियोबाट खुल्दछ । भिडियोमा प्रदर्शनमा सहभागिले नेकपा विप्लव समुहले आव्हान गरेको बन्दको दिनको समेत पैसा चाहिने भनेर वार्गेनिङ गरेको समेत सुन्न सकिन्छ ।
रोजगारको खोजीमा रहेका र निम्नवर्गीय मान्छे भेला पारेर मजदुरी वापत पाउने पारिश्रमिक जसरी चोलेन्द्रले खटाएका व्यक्तिले सहभागिलाई पैसा दिने गरेको सार्वजनिक भएको भिडियोले समेत पुष्टि गरिदिएको छ ।
माइतिघर र सर्वोच्च अदालत क्षेत्रमा चोलेन्द्रका पक्षमा पदर्शन गर्नेहरूले भ्रष्टाचारी न्यायाधीशलाई कारवाही गर भनेर लेखिएको ब्यानर बोक्ने गरेका छन् । न्यायालय भित्र व्याप्त भ्रष्टाचारको विरोधमा भनिएको आन्दोलनको उद्देश्य भने भ्रष्टाचारमा बदनाम बनेका चोलेन्द्र जोगाउने उद्देश्य बोकेको छ ।
चोलेन्द्रले सङ्कटमा परेको आफ्नो पद जोगाउन मडिया मिलाउने र भाडाका मान्छे ल्याएर आन्दोलन गराउने सम्मका हर्कत गरिरहेको सार्वजनिक भईरहेका छन् । सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल भने चोलेन्द्रका विषयमा मौनता साँधेर अप्रत्यक्ष रुपमा उनको समर्थनमा उभिएका छन् । राजनीतिक स्वार्थसिद्धिका लागि न्यायालय समेत उपयोग गर्न पल्केका राजनीतिक दलले साँधेको मौनताका कारण चोलेन्द्रको विषय थप लम्बिने र पेचिलो हुनेछ ।