जनकपुरधाम / खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई घुस लिएको आरोपमा अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरू रिहा भएका छन् ।
पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए ।
गत कार्तिक ४ गते दिउँसो लाठी र बाँसको डाटासहित कार्यालय पुगेका जनमत पार्टीका कार्यकर्ताले कुशवाहालाई नियन्त्रणमा लिएर पैदल हिँडाइ उपमहानगरपालिकासम्म लगेका थिए । कुशवाहाको कपडा च्यात्नुका साथै उनीहरूले शरीरमा हिलो छ्यापिदिएका थिए ।
प्रहरीले १७ जनालाई नियन्त्रणमा लिई आपराधिक अभद्र र अमानवीय व्यवहार मुद्दा चलाएको थियो ।
पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाहीका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो ।