काठमाडौँ / नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ ।

बाँकी जिल्लामा प्रतिनिधि छनौट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । 

उनका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै नआएको हो । 

“महाधिवेशनका लागि सबै जिल्ला, विभाग र जनसङ्गठनमा प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ”, उनले भने, “तर केही प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले ती जिल्लाबाट विवरण आउन ढिलाइ भएको हो ।”

यस्तै, २२ जनसङ्गठन मध्ये छ वटाबाट प्रतिनिधिको विवरण नआएको उनको भनाइ छ । एमालेले कात्तिक ३० गतेसम्म प्रतिनिधिको विवरण पठाउन निर्देशन दिए पनि ती जिल्ला र जनसङ्गठनबाट विवरण आएको छैन ।

उनले बिहीबारसम्म सबै जिल्ला र जनसङ्गठनको विवरण आउने बताए । एमालेमा एक निर्वाचन क्षेत्रबाट एक महिला, एक दलितसहित पाँच र जनसङ्गठनबाट पाँच जनाका दरले प्रतिनिधि छनौट गरिएको छ ।

मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि एमालेले कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि छनोट गरेको थियो । महाधिवेशनका लागि धेरैजसो जिल्ला कमिटीमा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको एमाले प्रचार विभाग उपप्रमुख थापाले बताए ।

चितवनमा हुने महाधिवेशनमा देशभरिबाट एक हजार ९९९ प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोग तथा अनुशासन आयोगमा १५१५ जना निर्वाचित गर्नेछ । 

महाधिवेशन गर्न एमाले नेता रामबहादुर थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।