काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानुनव्यवसायी र प्रहरीबीच झडप हुँदा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् ।
आन्दोलनकारी कानुन व्यवसायीहरू प्रधानन्यायाधीश लाई रोक्न सर्वोच्चको दोस्रो गेटमा जाने क्रममा प्रहरी र कानुनव्यवसायीबीच झडप हुँदा उनीहरु घाइते भएका हुन् ।
बिहान साढे १० बजे प्रधानन्यायाधीश छिर्ने गेट तर्फ अगाडि बढेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोज्दा धकेलाधकेल भएको थियो ।
धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा लडेका थिए । उनीहरूमाथि प्रहरीले हातपात गरेको कानून व्यवसायीहरूको भनाइ छ । एकजना डिएसपीको हातमा चोट लागेको छ ।
शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।
त्यस्तै कानुन व्यवसायीको धर्नाबीच प्रधानन्यायाधीश जबराले बिहीबारका लागि नौ इजलास गठन गरेका छन् ।
बारले राजीनामा माग्दै धर्ना दिइरहेका बेला जबराले बालुवाटार स्थित निवासबाटै नौवटा इजलासका लागि २५९ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् ।
आफू बाहेकका इजलास गठन गरेका जबराले उनीविरुद्ध आन्दोलन सुरु भएयता पहिलो पटक पूर्ण इजलास गठन गरेका छन् ।
१० नम्बर इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले भने आफ्ना लागि तोकिएका संयुक्त इजलासका लिखत दर्ता बदरका मुद्दा भने सुनुवाइ गर्ने बताइएका छन् ।