झापा / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आज शनिबार एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । 

माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।

वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन् भने आठ हजारभन्दा धेरै समिति गठन हुनेछन् ।

वडादेखि केन्द्रसम्म सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने योजनाअनुसार बनेको केन्द्रीय निर्वाचन आयोगले ७७ जिल्ला तथा सातवटा प्रदेशमा निर्वाचन समिति बनाएर आफ्नो काम गरिरहेको छ । 

११ मङ्सिरमा पालिका र २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।