काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ । शनिबार बिहान दाहाल निवास खुमलटारमा नेताद्वयबीच भेटवार्ता भएको हो । 

भेटवार्तामा प्रचण्ड र विप्लवबीच पार्टीगत सहकार्य गरी अघि बढ्ने समझदारी भएको बताइएको छ । 

मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई कसरी निकास दिने भन्ने विषयमा सकारात्मक छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय वर्तमान संसदीय व्यवस्था खारेज गर्दै वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्नुपर्ने माग गर्दै आएको छ । 

त्यसका लागि जनमत संग्रहमार्फत जनतालाई निर्णयको अधिकार दिनुपर्ने नेकपाको भनाइ छ । जनमत सङ्ग्रहमा जान नेकपाले प्रगतिशील संयुक्त सरकार बनाउन सकिने पनि जनाएको छ ।