काठमाडौँ / परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको नक्सा तथा अन्य राष्ट्रिय महत्वका दस्तावेजहरूको सक्कल प्रति सरकारसँग नरहेको बताएका छन् ।
नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनासले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै खड्काले सो कुरा बताएका हुन् ।
उनले भने, –‘नेपालको नक्सा, सन् १९५० को नेपाल–भारत मैत्री सन्धिसहितका महत्वपूर्ण दस्तावेजको सक्कल प्रति नै नेपालसँग छैन ।’
खड्काले दस्तावेज गायब हुनाले हामी नेपालीहरूको राष्ट्रिय चरित्रको खुकुलोपन छताछुल्ल भएको बताए ।
आफूले मन्त्रालयलको जिम्मेवारी सम्हालेको दुई महिना पनि नपुगेकाले नीतिगत विषयमा सार्वजनिक रुपमा टिप्पणी गर्नुभन्दा अध्ययनमा लागेको उनको भनाइ छ। तर परराष्ट्र नीतिको निर्माण तथा सञ्चालन राष्ट्रिय सहमतिबाट हुनुपर्ने आफ्नो मत रहेको बताए।