धनकुटा / नेपाली काँग्रेस धनकुटा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
सोमबार जिल्ला अधिवेशनका लागि मिति तय गरेपनि कमोट फागोले दबाब दिएपछि निर्वाचन अधिकृत पिकम राईले अधिवेशन स्थगित गरेका हुन् ।
सभापति शेरबहादुर देउवा पक्षले दुई वटै प्रदेशसभा क्षेत्रीय सभापति जितेपछि कृष्णप्रसाद सिटौला निकट फागो समूहले जिल्ला अधिवेशन बहिस्कारको नीति लिएको हो ।
जिल्ला अधिवेशन सर्वसम्मत चयनको बाटोमा जानुपर्ने फागो समूहको जोड छ । तर वर्तमान कोषाध्यक्ष तथा जिल्ला सभापतिका उम्मेदवार दिनेश राई र फागोबीच सहमतिमा जानेबारे कुरा नमिलेपछि अधिवेशन स्थगित भएको बुझिएको छ ।
राई देउवा समूहबाट उम्मेदवार बनेका छन् भने फागो सिटौला समूहबाट उम्मेदवार बन्ने तयारीमा छन् ।
धनकुटामा सुनील थापा समूहले देउवा पक्षलाई साथ दिएपछि संस्थापन इत्तर समूह कमजोर देखिएको छ । धनकुटा प्रदेशसभा क क्षेत्रीय सभापतिमा देउवा पक्षीय जितेन्द्र रुम्दाली राई निर्वाचित भएका छन् ।
उपसभापतिमा नगेन्द्र राई र मिलन खड्गी, सचिवमा नगेन्द्र बहादुर तामाङ (जीवन), सहसचिवमा टंकप्रसाद थापा र यम कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
उपसभापति नगेन्द्र राई रामचन्द्र पौडेल पक्षका हुन् भने बाँकी सबै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
प्रदेशसभा (ख) को सभापतिमा राजन पौडेल निर्वाचित भएका छन् । त्यस्तै उपसभापति पदमा चन्द्रकुमार लिम्बू र भीमबहादुर खड्का निर्विरोध निर्वाचित भएका थिए ।
समितिको सचिवमा दिलराज घिसिङ र गोपाल राई निर्वाचित भएका छन् । यस्तै सहसचिव विश्वास पुलामी र मणिराज राई निर्वाचित भएका छन् ।