चितवन / नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी आम निर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने भएका छन्।
सोमबार चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका –२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।
भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष दाहालले यसलाई अझ उचाइमा पुऱ्याउनका लागि आफ्नो उम्मेदवारी रहने दाहालले बताए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई(मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
यी क्षेत्रमा रु चार अर्बको लगानी हुने उनको भनाइ थियो । किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उनले बताए ।
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो ।
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा रु चार करोडको लागतमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन् । यसबाट २०० हेक्टर जमिन सिञ्चित हुने छ ।
जिल्लाका विभिन्न क्षेत्रमा यस कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ । ती ट्युबेल निर्माण गर्न रु १३ करोड ६० लाख खर्च भएको उहाँको भनाइ छ । नयाँ निर्माण गरिएका ट्युबेलले ८७७ हेक्टर जमिन सिञ्चित भएको छ ।