काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा थोमस प्रिन्जबीच भेटवार्ता भएको छ ।
मङ्गलबार मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नवीकरणीय ऊर्जाको विकास एवम् उत्पादनको विषयमा छलफल भएको एक नेताले बताए ।
भेटवार्तामा मन्त्री पौडेलले नेपाल र जर्मनबीच सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको र सन् २००६ मा नेपालमा राजदूतावास खुलेपछि द्विपक्षीय सम्बन्ध सधैँ उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै प्राविधिक र आर्थिक क्षेत्रमा सहयोग गर्न अपिल गरे ।
उनले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा जर्मनी सरकारलाई सहयोगका लागि आग्रह गरे ।
जर्मनीका राजदूत प्रिन्जले नेपालका विद्यार्थीले जर्मनमा निःशुल्क शिक्षा लिइरहेको बताउँदै भविष्यमा पनि यसको निरन्तरता हुने बताए ।