जनकपुर / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने बताएका छन् ।
जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
उनले भने, –“हरेक समस्याको समाधान गर्ने उपयुक्त विधि वार्ता र संवाद नै हो, अरु कुनै विधि नै छैन, त्यसैले वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएको विवाद समाधान गर्नुपर्छ ।”
समस्या समाधानमा ढिलाइ हुँदै आम जनतामा नकारात्मक सन्देश गइरहेकाले न्यायालयभित्रको विवाद समाधान हुनेगरि संवाद अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भइसकेको र छिट्टै नै समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे ।
अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने विश्वास व्यक्त गर्दै आसन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भइसकेको बताए ।
चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने उनले सुझाव दिए ।
उनले भने, “एउटा प्रदेशमा एकै दिन तीनै तहको निर्वाचन, पुनः अर्को प्रदेशमा अर्को एकैदिन तीनै तहको निर्वाचन गर्दा राम्रो हुन्छ ।”