काठमाडौँ / नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताएका हुन् । 

संयोजक यादवले भने, “६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत परिणाम बुधबार आउने जानकारी जिल्लाहरूबाट प्राप्त भएको छ ।”

यादवका अनुसार देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । 

नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ ।