चितवन / नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटनको दिन १० गते सार्वजनिक सवारी साधन सञ्चालनका लागि रोक लगाइएको छ ।
महाधिवेशन हुने स्थानमा पाँच लाख जनता उतार्ने एमालेको तयारी भएसँगै यसलाई व्यवस्थित बनाउन चितवन प्रशासनले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो ।
पश्चिम नेपालबाट आउने र पश्चिम जाने अत्यावश्यक बाहेकका सवारी साधन पूर्ण रोक लगाइएको छ । पूर्वी नेपालबाट काठमाडौँ र पोखरा आउजाउ गर्ने यातायात भने बाइपास सडकबाट सञ्चालनमा आउनेछ ।
भीडलाई व्यवस्थित पार्न र यातायात सहज बनाउन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।
पूर्वबाट आउने गाडीलाई भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिने छ भने पश्चिमबाट आउने गाडीलाई गैँडाकोटमै रोक्ने तयारी छ ।
मुग्लिन हुँदै काठमाडौं, पोखराबाट आएका गाडी बजार भन्दा पर आँपटारीमा रोकिने छन् । यस्तै, पश्चिम चितवनबाट छुटेका गाडीलाई भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिने छ ।