काठमाडौँ / पुरानो पुस्तालाई चुनौति दिदै  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा झापाली नेता राजेन्द्रप्रसाद लिङ्देन ले पार्टी अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा कार्यक्रमको आयोजना गरी नेता लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा र चर्चित अभिनेत्री रेखा थापालगायतले समर्थन गरेका छन् ।

लिङदेन नेतृत्वको समूहले छुट्टै प्यानल नै बनाएर पार्टीका संस्थापक नेताहरूसँग प्रतिष्पर्धा गर्ने भएको हो । पार्टी अध्यक्ष त्रय कमल थापा , पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले अध्यक्षका लागि दावी गरिरहेको समयमा दोस्रो पुस्ताका नेताहरू पार्टी नेतृत्वका लागि चुनावी प्रतिष्पर्धामा होमिने भएका हुन् ।

लिङ्देन देशभर राप्रपा पराजित हुँदा समेत झापाबाट कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका थिए । उनी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का संस्थापक अध्यक्ष समेत हुन् ।

लिङ्देन समूहमा रहेका अर्का नेता धवल शमशेर राणा एमालेको राजनीतिबाट उदाएका प्रतिभाशाली नेता हुन्  । देशभर नगरपालिकामा पराजय भोगेको समयमा समेत राणा नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

उनी २०५४ मा भने एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाका कै मेयर थिए । राणा एमाले छाडेर राप्रपाको राजनीतिमा स्थापित भएका हुन् । राजसंस्था विरुद्ध एमालेले जाने निर्णय गरेपछि उनी एमाले छाडेर राप्रपामा गएका थिए ।

आगामी मंसिर १५–१७ गते राप्रपाको काठमाण्डौमा महाधिवेशन हुदैंछ । महाधिवेशनमा देशभरका करिब ४ हजार ५ सय प्रतिनिधि सहभागि हुनेछन् । राप्रपाको नेतृत्वका लागि दोस्रो पुस्ता अग्रसर बनेपछि पहिलो पुस्ता सङ्कटमा पर्ने सम्भावना वढेर गएको छ ।