बिर्तामोड / नेकपा एमालेको आसन्न महाधिवेशनमा प्रदेश एकबाटै पदाधिकारीमा ११ जना आकांक्षी देखिएका छन् । कुल १५ पदका लागि ११ पदमा प्रदेश एकका नेताले आफ्नो दावी प्रस्तुत गरेका छन् । १५ पदका लागि देशभरिबाट १०० जनाभन्दा बढी उम्मेदवार चुनावी प्रतिष्पर्धामा होमिने अड्कल काटिएको छ । करिब २२ सय प्रतिनिधि हुने महाधिवेशनमा विभिन्न पदमा ९ सय आकांक्षी देखिएपछि नेताहरूको व्यवस्थापनमा समेत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सकस पर्ने भएको छ ।
पार्टी अध्यक्ष ओली सहित उच्च तहमा रहेर काम गरिरहेका दर्जनौँ नेता रहेकाले पनि प्रदेश एकबाट पदाधिकारीमा बढी आकांक्षी देखिएका हुन् । प्रदेश १ का दुई पूर्व मुख्यमन्त्री भीम आचार्य र शेरधन राई , लालबाबु पण्डित अनि राजेन्द्र गौतमले पदाधिकारीमा दावी प्रस्तुत गरिसकेका छन् ।
नेता सुवासचन्द्र नेम्वाङ , योगेश भट्टराई, शेरधन राई, गुरु बराल, भानुभक्त ढकाल, लालबाबु पण्डित, जीवन घिमिरे, राजेन्द्र गौतम विशाल भट्टराई, विनोद ढकाल र हिक्मत कार्कीले पनि पदाधिकारीमा दावी प्रस्तुत गरिरहेका छन् ।
अहिले पार्टी पदाधिकारीमा रहेका भट्टराई, आचार्य, राई, नेम्वाङ, पण्डित र गौतम अन्य आकांक्षी भन्दा बलियो देखिएका छन् ।