चितवन / नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ । एमालेले पर्यटकीय नगरी चितवनमा पहिलो पटक पार्टी महाधिवेशन गर्न लागेको हो ।
महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । शुक्रबार मङ्सिर १० गते नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने कार्यक्रम छ ।
एमाले प्रचार विभाग प्रमुख तथा महाधिवेशन प्रचार संयोजक योगेश भट्टराईले उद्घाटन सभामा चितवनलगायत देशका विभिन्न भागबाट पाँच लाखभन्दा बढी एमालेका नेता तथा कार्यकर्ताले सहभागिता जनाउने दावी गरे ।
पश्चिमतर्फबाट हुने सहभागीलाई लक्षित गरी नारायणी नदीको गैँडाकोट तर्फ पनि डिजिटल बोर्ड राखी कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।
त्यस्तै नारायणगढका विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण अवलोकनका लागि ठूलाठूला डिजिटल बोर्ड राखिएको संयोजक भट्टराईले जानकारी दिए ।
प्रचार संयोजक भट्टराईका अनुसार महाधिवेशनमा भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडिया लगायत देशबाट प्रतिनिधि सहभागी हुनेछन् ।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसङ्गठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र पाँच प्रतिशत मनोनीत (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् ।
एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेतासमेत पर्यवेक्षकका रूपमा सहभागी हुने जनाइएको छ ।