खोटाङ / खोटाङमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)बीच पार्टी एकीकरण भएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकीकरण भएको घोषणा गरेका हुन् ।
गत कात्तिक २५ गते खोटाङका पुराना वामपन्थी नेता एवं पूर्वसांसद कुलप्रसाद शर्मा फुँयाल, पोलिटब्युरो सदस्य एवं प्रदेश सचिवालय सदस्य लगायत चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि बिहीबार औपचारिकरूपमा दुई पार्टीबीच एकीकरण भएको विज्ञप्तिमा जनाइएको छ ।
फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शङ्कर पोखरेलले एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
एकीकृत समाजवादीका वार्ता टोली संयोजक बेदुराम भुसाल र मालेका वार्ता टोली संयोजक फुयाँलबीच गत कात्तिक २५ गते मालेको २५ सदस्यीय जिल्ला कार्यसमिति एकीकृत समाजवादीमा समायोजन गर्ने सहमति भएको थियो ।
माले छाडेका पूर्वसांसद फुयाँल एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका जिल्ला सचिव राजन आचार्यले जानकारी दिए ।
यसैबीच एकीकृत समाजवादीले जिल्लाका १० वटै स्थानीय तहमा सङ्गठन विस्तार तथा पार्टी कार्यालय स्थापना अभियान सुरु गरेको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म चार स्थानीय तहमा सङ्गठन विस्तार तथा कार्यालय स्थापनाको काम सकिएको एकीकृत समाजवादीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिए ।
एकीकृत समाजवादीले जन्तेढुङ्गा, बराहपोखरी र केपिलासगढी गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिकामा आफ्नो सङ्गठन विस्तार एवं कार्यालय स्थापनाको काम सम्पन्न गरेको छ ।