चितवन / नेकपा एमालेको दशौँ महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका राप्रपाका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेका छन् । 

अध्यक्ष थापाले कार्यक्रमको सम्बोधन गर्ने क्रममा ओलीलाई राष्ट्रिय एकताको प्रतीक भन्दै प्रशंसा गरेका हुन् ।

विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको र नेपालको गुमेको भूभागसहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै थापाले ओलीको प्रशंसा गरेका थिए । 

थापाले ओलीको प्रशंसा गरि रहँदा एमालेका नेता तथा कार्यकर्ताले हुटिङ गरेका थिए । थापाले भने, –‘‘केपी ओलीजस्तो दृढ अडान भएको र राष्ट्रवादी सोच भएको नेतृत्व गरेको पार्टीले यो देशलाई सङ्कटबाट जोगाउनका निमित्त ऐतिहासिक योगदान पुर्याउन सक्नेछ भन्ने मेरो विश्वास छ ।’ 

ओलीसँग एउटै सरकारमा रहेर केही समय काम गर्ने अवसर पाएको बताउँदै थापाले भारतीय नाकाबन्दीको सामना गरेर चीनसँग पारवहन सन्धि गर्नु लगायतका विषयमा सम्बन्ध बनाउन ओलीले महत्वपूर्ण भूमिका खेलेको बताए । 

थापाले एमाले कम्युनिष्ट आन्दोलनको एक प्रमुख शक्ति र देशको सबैभन्दा ठूलो राजनीतिक दल भएको बताउँदै दशौँ महाधिवेशनपछि अझै बलियो बनेर आउने विश्वास व्यक्त गरे ।