चितवन / नेकपा (एमाले) ले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा नेता तथा कार्यकर्तालाई स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश गर्न दिने भएको छ ।
एमालेले कोभिडको समय भएकाले बन्दसत्र स्थलमा नेता तथा कार्यकर्ताको रुघाखोकी तथा ज्वरो परीक्षण गरेपछि मात्रै प्रवेश गर्न दिने भएको हो ।
एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले जानकारी दिए ।
महाधिवेशनमा भाग लिने प्रतिनिधि रातिको समयमा बिरामी भएको अवस्थामा उनीहरु बसेको होटलमै पुगेर चिकित्सकसहितको स्वास्थ्य प्राविधिक टोलीले उपचार गर्ने पौडेलले बताए ।
एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र शनिबार र आइतबार सौराहाको होटल सेभेन स्टारमा हुने गरी तयारी भएको एमालेले जनाएको छ ।