काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी पुस महिनासम्ममा भूमिहीन सुकुम्बासी र लालपुर्जाविहीन स्वबासीको समस्या समाधान गर्ने बताएकी छिन् ।
नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीको प्रथम नगर अधिवेशनको आज उद्घाटन गर्दै उनले यसका लागि कार्ययोजना बनिसकेको र कार्यविधि बन्दै गरेकाले अब भूमिहीनको समस्या सधैँका लागि अन्त्य गर्ने गरी समाधान गर्ने बताएकी हुन् ।
मन्त्री श्रेष्ठले भनिन्, –“विसं २०२१ को नापीमा छुटेका, त्यसअघिदेखि आफ्नै जग्गाको भोगचलन गरेर आएका तर हातमा लालपूर्जा नभएका भूमिहीन धेरै रहेछन्, कतिपय सुकुम्बासीको समस्या यथावतै रहेछ, उपत्यकाभित्रका लालपुर्जाविहीन स्वबासीको समस्या पनि उस्तै रहेछ, यी समस्या समाधान गर्दैछु, पुस महिनाभित्र देशमा कोही पनि भूमिहीन नरहने गरी समस्या समाधान गर्ने गरी लागेको छु ।”
अघिल्लो सरकारले गठन गरेको भूमि आयोगले खासै काम नगरेको बताउँदै अब राष्ट्रिय भूमि आयोगले नै काम गरेर गठन आदेशबाटै भए पनि समस्याको समाधान गर्ने उनले बताइन् ।
कानूनले छोरीका नाममा अंशको व्यवस्था गरे पनि त्यसलाई अझै कार्यान्वयनमा नल्याएको भन्दै मन्त्री श्रेष्ठले भनिन्, “छोरीको नाममा पनि सम्पत्ति भन्ने कानूनलाई कार्यान्वयनमा ल्याउने छु, अहिले पनि अंशबन्डा हुँदा मालपोत कार्यालयले छोरी छ कि खोज्दैन, अब आमा, श्रीमती, छोरी पनि अंशियार कायम हुन्छन् र मालपोतले महिलालाई पनि अंशियार हकका आधारमा अंशबण्डा गर्दा छोरी खोज्ने गरी व्यवस्था गराउँछु ।”