उर्लाबारी  / नेकपा (माओवादी केन्द्र)को शनिबार सम्पन्न गाउँ–नगर अधिवेशनले मोरङका अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । 

केन्द्रका जिल्ला अध्यक्ष गणेश उप्रेतीका अनुसार कानेपोखरी गाउँपालिका र रतुवामाई नगरपालिका बाहेक सबै गाउँ, नगरमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

विराटनगर महानगरपालिकामा १६ गते अधिवेशन हुने गरी मिति तय गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष उप्रेतीका अनुसार रङ्गेली नगरपालिकामा श्री अधिकारी, सुनवर्षी नगरपालिकामा जयन्त दास सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छभएका छन् । 

यसैगरी, पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, बेलबारी र सुन्दरहरैचा नगरपालिकामा क्रमशः चेतन दाहाल, गजेन्द्र दंगाल, विनोद नेपाल, पर्शुराम सुवेदी र दुष्यन्त भट्टराई सर्वसम्मत अध्यक्ष चयन भएका छन् । 

यसैगरी, मिक्लाजुङमा उमेश राई, केराबारीमा तिलक मगर, बुढीगंगामा डिल्ली आचार्य, थनपालथानमा षडानन्द सरदार, ग्रामथानमा रमेश भगत, कटहरीमा किशोर पाण्डे र जहदा गाउँपालिकामा सुशील मण्डल अध्यक्ष भएका छन् । 

कानेपोखरी गाउँपालिकामा र रतुवामाई नगरपालिकामा अध्यक्षको दाबी गर्नेको सङ्ख्या धेरै भएपछि आइतबार पुनः सहमति खोज्ने प्रयास भइरहेको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य प्रकाश पौडेलले बताए ।