बिर्तामोड / प्रदेश सरकारले भुटानी शरणार्थीका माग पुरा गर्न नसक्ने बताएको छ ।
अमेरिकामा रहेका शरणार्थीहरूको संगठन इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले झापामा रहेका शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता पाउनु पर्ने वा स्वदेश फिर्ताको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दै आएका छन् ।
इन्ट्राले निर्माण गरेको ज्येष्ठ नागरिक डे केयर भवनको उद्घाटन गर्न शनिबार बेलडाँगी शिविर पुगेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उनीहरूको माग पूरा गर्न नसक्ने बताएका हुन् । तर, उनले संघीय सरकार र राजनीतिक दलहरूलाई सो माग पूरा गराउन आफ्नो पहल रहने प्रतिबद्धता जनाए ।
दुई साताअघि नेपाल आएका इन्ट्रा नेशनल वेल्फेर एन्ड स्पोर्टका पदाधिकारीले शीर्ष राजनीतिज्ञलाई भेटेर शरणार्थीहरूको विषयमा कुरा गरिरहेका छन् । राजनीतिज्ञहरूबाट सकारात्मक जवाफ पाएको सो संस्थाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए ।
उक्त तीन मागमध्ये एउटा पूरा गरिदिन इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले आग्रह गरेका थिए । शिविरमा रहेका शरणार्थीलाई सहयोग गर्दै आएको इन्ट्राले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने अध्यक्ष अधिकारीले जानकारी दिए ।
उनका अनुसार यसअघि नै इन्ट्राले ८० वर्ष पुगेका करिब १३२ जनालाई मासिक पाँच हजार रुपैयाँ वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ ।
नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले घोषणा गरिएको इन्ट्राले मेरो भ्वाइसकप अमेरिका यूएसए–२ र मेरो डान्स कप यूएसए –४ को उद्घाटन पनि गरिएको छ ।