काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अध्यक्ष पदकालागि भीम रावलले उम्मेद्वारी दिएका छन् । रावलले आज (सोमबार) बिहान अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
रावलको प्रस्तावमा महादेव बजगाईँ र समर्थकमा दुधकला विष्ट रहेका छन् । बजगाईँ कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर हुन भने विष्ट एमाले अछामकी नेता हुन् ।
अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति जनाउँदै रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् ।
रावलले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएसँगै अर्का नेता द्वय विष्णु पौडेल र घनश्याम भुसालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेद्वारी गर्दा गराएका छन् ।
एमालेको १० औँ महाधिवेशनको बन्दसत्रमा सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिएको छ ।
ईश्वर पोखरेल एमालेको दुई कार्यकाल महासचिव भएका थिए । एमाले सचिव भइसकेका शंकर पोखरेल यसअघिको महाधिवेशनमा उपमहासचिवमा हारेका थिए ।
प्रस्ताव अनुसार ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ छन् ।
त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल लाई प्रस्ताव गरिएको छ । सात जना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् ।2