काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । 

नेता पुनलाई गत शुक्रबार बैङ्ककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको थियो ।

चीनमा उपचार गर्न सुरु गरे लगतै पुनको स्वास्थ्यमा सुधार देखिएको नेता पुनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले जानकारी दिइन् । 

नेता पुनको उपचारमा तीन दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् । पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस बिलरुविनको मात्रा  घटेर १८ मा झरेको छ । 

यस अघि बैङ्ककमा छँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने बान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्यामा सुधार भएको छ ।

उपचारमा सहभागि चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनको पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिए ।