बिर्तामोड / नेकपा एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका अहिले मतदान जारी छ । बिहान ४ बजेबाट सुरु भएको मतदानमा यो समाचार तयार पार्दा सम्म करिब १६५० भन्दा बढी मत खसेको छ ।
मतदानको कार्यतालिकामा ढिलाई भएपछि मतदान बिहान ४ बजे मात्र सुरु भएको थियो । मतदान सकिए लगत्तै नतिजा सार्वजनिक हुने छ ।
एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतीका लागि गरेको प्रयास विफल भएपछि निर्वाचनका माध्यमबाट नेतृत्व चयन हुने भएको हो । मतदान सुरु भए लगत्तै पहिलो मत भने निवर्तमान अध्यक्ष ओलीले नै हालेका थिए ।
एमालेमा पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान भइरहेको हो । अन्य पदमा भने सहमतिमै नेतृत्व चयन भएको छ । भोटिङका लागि मतदान स्थलमा ६९ वटा विद्युतीय मेसिन राखिएको छ । कुल २ हजार १७५ जना प्रतिनिधिमध्ये केही फर्किसकेकाले कम मत खस्ने अनुमान गरिएको छ ।