चितवन / नेकपा (एमाले) को नेतृत्व छनौटका लागि आज बिहान ४ बजेबाट सुरु भएको मतदान सकिएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मतदान गरेका छन् ।

निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले बलजफ्ती सर्वसम्मत नेतृत्व छनौट गर्न कोसिस गरेपनि उनको कोसिस असफल भएपछि मतदानमा जानुपर्ने अवस्था आएको थियो ।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी  चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि  चुनावबाट नै छनौट हुनेछ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्। अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएको छ। विद्युतीय मतदान भएकाले केहीघन्टा भित्रै मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।