काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आफू लिङदेनको पक्षमा उभिएको बताएका हुन् । उनले आफू सहमतिबाट नेतृत्व चयनको पक्षमा रहे पनि त्यो सम्भव नदेखिकाले लिङदेनको पक्षमा उभिएको स्पष्ट पारे । अध्यक्ष लोहनीले अध्यक्षद्वय पशुपतिशमशेर जबरा र कमल थापालाई पनि लिङ्देनलाई समर्थन गरी पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका नेता लिङ्देनले आफूले उम्मेदवार घोषणा गर्दैमा कसैले अपमानित महसुस गर्नुनपर्ने बताएका छन् । उनले आफ्ना उम्मेदवारी घोषणालाई देश बचाउने र राप्रपालाई एक नम्बरको पार्टी बनाउने अभियानको रुपमा व्याख्या गरेका छन् ।
राप्रपाको महाधिवेशन यही मंसिर १५ देखि १७ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनमा अध्यक्षका लागि नेता लिङ्देन र कमल थापाले उम्मेदवारी घोषणा गरेका छन्।