बिर्तामोड / राप्रपाको आसन्न जारी अधिवेशनमा पार्टी नेतृत्वका लागि उमेद्धार बनेका झापाली नेता राजेन्द्र लिङ्देन अर्का अध्यक्ष कमल थापालाई ठुलो चुनौति बन्ने भएका छन् । महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वमा दावी गरेका पार्टीका संस्थापक नेताहरू निर्वाचनका विषयमा खुलेपछि लिङ्देन थापाका लागि भारी हुने अवस्था देखा परेको छ ।
पार्टी अध्यक्षमा दावी गर्दै आएका प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई साथ दिने घोषणा गरेपछि दबाबमा परेका नेता थापालाई पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर राणाले साथ दिने अनुमान गरिएको थियो । तर राणाले पनि सर्वसम्मत नेतृत्व चयन हुने अवस्था नदेखिएकाले आफू निर्वाचनमा तठस्त बस्ने घोषणा गरेपछि पार्टी भित्र थापा कमजोर देखिएका हुन् ।
पार्टीमा हाल कायम रहेका तीन अध्यक्ष मध्ये लोहनी र राणाले समेत उम्मेद्वारी दिँदा आफू विजयी हुने ठानेका थापालाई दुवैको घोषणाले समस्यामा पारेको छ । दुवैले मंगलबार छुट्टा छुट्टै पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वका विषयमा आफ्ना धारणा सार्वजनिक गरेपछि विगतमा थापाकै प्रिय पात्र रहेका झापाली नेता लिङ्देन थापाका लागि भारी पर्ने भएका हुन् ।
लोहनीले पार्टीमा पुस्ता हस्तान्तरण आवश्यक रहेको भन्दै लिङ्देनलाई सहयोग गर्ने घोषणा गरेका थिए । राणाले भने निर्वाचनका क्रममा आफूलाई तठस्त राख्ने बताएसँगै थापा र लिङ्देन बिचको प्रतिष्पर्धा समेत रोचक हुने भएको छ ।
हिन्दु राष्ट्र र राजसंस्थाको विषयमा कायम जनमतमाथि धोका र गद्दारी गरेको भन्दै लिङ्देन र धवल शमशेर राणा सहितको समुहले नेतृत्व परिवर्तनको माग सहित केही दिन अघि उम्मेद्वारी घोषणा गरेको थियो ।
वर्तमान नेतृत्वले राजसंस्थाका पक्षमा काम गर्न नसकेको भनेर असन्तुष्टि प्रकट गर्दै आएको पूर्व राजपरिवारको समेत सहयोगमा लिङ्देनले उम्मेद्वारी घोषणा गरेको मानिदै आएको छ ।
उमेद्धार बनेका दुवैले हिन्दु राष्ट्र र राजसंस्थालाई आफ्नो एजेन्डा बनाएको भएपनि पार्टी भित्र समेत लिङ्देनको प्रभाव बलियो रहेको छ । उनलाई पूर्व राजसंस्था पक्षधर अनि धार्मिक अगुवाको समेत साथ , सहयोग र सद्भाव रहेकाले कमल थापालाई उनी भारीपर्ने अनुमान गर्न थालिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारबाट काठमाडौँमा सुरु हुँदैछ । उद्घाटन सत्रका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भृकुटीमण्डपमा स्टेजलगायत तयारीका काम ९८ प्रतिशत सकिएको सो पार्टीले जनाएको छ । आगामी १७ गतेसम्म चल्ने महाधिवेशन पार्टी नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।