चितवन / नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले १० औं राष्ट्रिय महाधिवेशनले एमाले एक जुट भएको सन्देश गएको बताएका छन्। 

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै नेम्वाङले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्युनिष्ट आन्दोलनको मूलधारका रूपमा स्थापित बन्ने बताए।

उनले भने, ‘यो महाधिवेशनबाट पार्टी एक ढिक्का भएको छ, एकजुट भएका छौं।’ महाधिवेशनले एउटा सन्देश पनि दिनसकेको जनाउँदै उनले एमाले नै कम्युनिष्ट आन्दोलनको मूलधार हो भन्ने प्रमाणित भएको बताए।

निरङ्कुशता विरूद्धको लोकतान्त्रिक आन्दोलनको यो नै मूलधार हो भन्ने सन्देश दिन महाधिवेशनले सकेको उनको भनाइ थियो।

एमालेलाई जनताको उत्तिकै समर्थन रहेछ भन्ने कुरा यो महाधिवेशनबाट स्थापित भएको उल्लेख गर्दै उनले यसैका आधारमा अघि बढ्ने बताए। 

निर्वाचनमा भाग लिएका साथीलाई अन्यथा सोच्ने भन्ने कुरा हुँदैन भन्दै नेम्वाङले यसलाई स्वभाविक रूपमा लिइने बताए। पराजित भएकालाई सम्मानका साथ समेटेर सहभागी गराएर अघि बढ्ने उनको भनाइ थियो।