काठमाडौँ  / नेपाली कांग्रेसले १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ । 

कांग्रेसले सात मध्ये ६ प्रदेशमा प्रदेश अधिवेशन उद्घाटन गर्दै पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको हो । 

महाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशन अघिको एक हप्ते प्रचार अभियान पनि प्रारम्भ भएको समितिले जनाएको छ ।

ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झन्डा र कांग्रेसको झन्डा बोकेको, चुनाव चिह्न रूख तथा बीपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्बिर अङ्कित छ ।

सो प्रचार ब्यानरको छोटो भिडियो भने दुई दिनपछि सार्वजनिक गरिने समितिले जनाएको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदै छ ।