काठमाडौँ / अध्यक्ष पछिका बाँकी पदाधिकारी चयन गर्न यही पुस २५ गते बस्ने भनिएको माओवादीको केन्द्रीय समितिको बैठक स्थगन गरिएको छ ।
पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी १५ नेता बिरामी परेकाले आगामी २५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगन गरिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
ढकालका अनुसार बिरामीमध्ये ९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय कार्यालयका लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि नै अध्यक्ष प्रचण्डले भेटघाट बन्द गरेका छन्।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक राष्ट्रिय सभा निर्वाचनपछि मात्र बस्ने सम्भावना रहेको ढकालले बताए । पदावधि पूरा भएर राष्ट्रिय सभाका १९ सदस्य बिदा हुन लागेकाले तिनमा पदपूर्तिका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।
पुस ११–१८ मा सम्पन्न आठौं महाधिवेशनले माओवादी केन्द्रको २ सय ४६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
अब वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन गर्न बाँकी छ ।






































