काठमाडौँ / पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेको नेतृत्वलाई हिट्लरसँग तुलना गरेपछि एमाले नेता गोकुल बाँस्कोटाले पनि उनलाई हत्याराको संज्ञा दिएका छन् । 

आज (शनिबार) बिहान मात्रै भट्टराईले सामाजिक संजाल ट्वीटरमा एमालेमा हिट्लर प्रवृत्ति देखिएको भन्दै लेखेपछि नेता बाँस्कोटाले पनि उनलाई हत्याराको संज्ञा दिँदै आक्रोस पोखेका हुन् । 

नेता भट्टराईले ट्वीटरमा यस्तो लेखेका थिए, –‘बिना कारण ६ महिनादेखि संसद अवरुद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिस्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व हुन्। नबिर्सौं हिट्लरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो ।’ 

त्यसप्रति कडा जवाफ फर्काउँदै पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बाँस्कोटाले पनि हारजंगमा आठ जना नागरिकलाई घरभित्रै थुनेर ज्यूँदै जलाएर मार्ने, चितवनमा चार वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्वार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो ? भन्दै भट्टराईसँग प्रश्न गरेका छन् ।