पोखरा  /  एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी ल्याउनुपर्छ भनेर सम्झौता गर्नेहरूले विरोध गर्दै हिँडेको र आफूमाथि ढुङ्गा प्रहार गरेको बताएका छन् । 

शुक्रवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएका हुन् । 

‘एमसीसी सहयोग नेपालमा ल्याई पाऊँ भनेर आफू चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ढुङ्गा हान्दैनन्। ताली बजाउँछन्। बाबुराम भट्टराई एमसीसी अघि बढाउने मान्छे हिँड्दा ढुङ्गा हानेनन्। नेपाली कांग्रेसले एमसीसी पास गराउनुपर्छ भन्छ । सभामुखले टेबुल गरेका छन्। ढुङ्गा हानिँदैन। एमसीसी ठिक छ भनेर कुरा टुङ्ग्याउने कृष्णबहादुर महरा बाटोमा हिँड्दा ढुङ्गा हानिँदैन,’ ओलीले भने, ‘म बाटोबाट हिँड्छु अनि ढुङ्गा हान्छन्।’


सत्तारूढ दलले नै कार्यकर्तालाई सडकमा उतारेर प्रहरीलाई ढुङ्गा हान्न लगाएको ओलीको आरोप छ । 

गत फागुन ८ गते संसद् बैठकबाट बालकोट जानेक्रममा शंखुमलमा प्रदर्शन कारीले ओलीलाई लक्षित गर्दै ढुङ्गा प्रहार गरेका थिए ।