काठमाडौं / नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिटको सीमा घटाएर २५ हजार रुपैयाँमा झारेको छ । बैंकले बुधबार सूचना जारी गर्दै अनुमति प्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सब-रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा एकजनाले एउटा कारोबार बापत दिनमा बढीमा एक लाख रुपैयाँसम्म रकम स्थानान्तरणको सीमालाई ७५ प्रतिशतले घटाएको हो ।
तर विदेशबाट नेपालमा रहेका सम्बन्धित व्यक्ति वा आफन्त (बेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत नै रहेको राष्ट्र बैंकले जनाएको छ ।
दुई साताअघि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले रेमिटेन्स कम्पनीहरूले आफ्ना एजेन्ट र सब एजेन्टमार्फत स्वदेशभित्र गर्ने रकम स्थानान्तरणको सीमालाई पुनरावलोकन गर्ने जनाएको थियो। त्यतिबेला यो रकमको सीमा ५० हजारमा झार्ने तयारी राष्ट्र बैंकको रहेको बुझिएको थियो। तर योभन्दा पनि अझ कसिलो गर्दै यसले सीमा २५ हजार रुपैयाँ झारेको छ ।
उच्च आयात वृद्धिसँगै विदेशमा काम गर्न गएका नेपालीले पठाउने रेमिटेन्स घट्नुमा हुन्डी नै प्रमुख कारण भएको ठहर राष्ट्र बैंकको छ । सोही कारण मौद्रिक नीतिको समीक्षाले आन्तरिक रेमिटेन्स भुक्तानी सीमामा पुनरावलोकनको सोच बनाएको हो ।
रेमिटेन्स विदेशमा होल्ड हुने र कामदारको परिवारलाई नेपालस्थित हुन्डी एजेन्टले भुक्तानी गर्ने गरेको पाइएको छ। यसका लागि बैंक तथा वित्तीय संस्था भन्दा रेमिटेन्स एजेन्टहरूको प्रयोग ब्यापक भएको छ ।




































