सर्लाही / नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् ।पूर्वसभापति समेत रहेका कोइराला पक्षका उम्मेदवारलाई पराजित गर्दै संस्थापन पक्षका सिंह निर्वाचित भएका हुन् । आइतबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार एक उपसभापति बाहेक सबै संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् ।
सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए । राय भन्दा सिंह ३८० बढी मत ल्याएर विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो ।
उपसभापतिमा भने संस्थापन इतरका नवीन अधिकारी १ हजार ४९३ मतसहित विजयी भए । उपसभापतिमै संस्थापनबाट डा. सरोज कुमार (राजु) १ हजार ७६४ मतसहित विजयी भएका छन् ।
सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भएका छन् भने सहसचिवमा संस्थापन पक्षकै इन्द्रबहादुर योञ्जन १ हजार ७११ र सुनिलकुमार कुशवाहा १ हजार ५७९ मत सहित विजयी भएका हुन् ।
कांग्रेसको कुल ३ हजार २ सय ८७ मतदाता रहेको सर्लाहीमा ३ हजार १ सय ७४ जनाले मतदान गरेका थिए ।
सदस्यको मतगणना भने होलीपछि हुने छ । कांग्रेस जिल्ला अधिवेशन अन्तर्गत गत शनिबार मतदान भएको थियो ।