बिर्तामोड / नेपाल राष्ट्र बैंकले चैत २१ गते अर्थात् आज सोमबार पुनः ३२ अर्ब २० करोड रुपियाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत १४ गते पनि राष्ट्र बैंकले २२ अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति चैत २२ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको नौ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपियाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ वैशाख २० गते, ९१ दिनेको २०७९ असार २१ गते, एक सय ८२ दिने अवधिको २०७९ असोज १८ गते र तीन सय ६४ दिने अवधिको २०७९ चैत २१ गते परिपक्व हुने अवधि तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार आज बिक्री हुने ती ट्रेजरी पुरानो नवीकरण अन्तर्गतको रहेको छ । यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको ११ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको तीन अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।