बिर्तामोड / घाटामा गएपछि एक दशक देखि बन्द भएको बीबी एयरवेजले होटल बेचेर पुनः उडान भर्ने भएको छ ।
कम्पनीका अध्यक्ष भवन भट्टका अनुसार बीबीले धुलिखेल माउन्टेन रिर्सोट (डीएमआर) बेचेर पुनः उडान भर्ने काम सुरु गर्न लागेको हो ।
कम्पनीले डेढ अर्ब रुपैयाँ लगानी थपी दुईवटा एयरबस –३२० जहाज लिजमा लिएर सेप्टेम्बरबाट पुनः उडान सुरु गर्ने भट्टले बताए ।
भट्टका अनुसार हेटौंडामा रहेको स्टार बियर उत्पादन गर्ने नेपाल ब्रुहरीज पनि बेचेर एयरवेजमै लगानी गरिने छ ।
लाइसेन्स लिएर बीबीले सन् २०१२ सेप्टेम्बर १३ देखि सेवा सुरु गरेको थियो । तर सोचे जस्तो फाइदा नभएपछि निरन्तर गर्न नसकेको अध्यक्ष भट्टराईले बताए ।
बीबीको लाइसेन्स गत फागुन २९ मा नवीकरण भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। मन्त्रालयले दुई वर्षभित्र जहाज संख्या दुई पुर्याएर उडान संचालन गर्ने सर्तमा अनुमति दिएको बताइएको छ ।
मन्त्रालयले कम्पनीलाई दिल्ली, बैंकक, क्वालालम्पुर, हङकङ, टोकियो, दोहा, सिंगापुर लगायत गन्तव्यमा उडान सञ्चालन अनुमति दिइएको जनाइएको छ।
उनका अनुसार सुरुमा दुई बोइङ–७६७ र तीन एयरबस–३२० सिरिज जहाज ल्याएर अन्तर्राष्ट्रिय उडान गर्ने योजना पेस भएको छ।





































