बिर्तामोड / पूर्वी नेपालको भारतसँग सिमाना जोडिएका क्षेत्रबाट सुरक्षाकर्मीसँगको मिलेमतोमा अवैध कारोबारमा संलग्नले नेपालमा प्रतिबन्धीत रहेका औषधी र अन्य सामाग्री समेत ठूलो परिमाणमा आयात हुने गरेको खुलेपछि राज्यका दुई निकायले अनुगमनलाई तिव्रता दिएका छन् ।
झापा र इलाममा पटक–पटक ठूलो परिमाणमा औषधी बरामद अनि मोरङ , सुनसरी र झापाका विभिन्न ठाउँमा भारतबाट अवैध रुपमा भित्रिएको सामाग्री बरामद भएको विषयमा राज्यका दुई निकायले थालेको छानविनमा स्थानीय सुरक्षा निकायबाट अपेक्षित सहयोग नपाएको भन्दै प्रमुख जिल्ला अधिकारीसँग सहयोग मागेका छन् ।
अवैध कारोबारमा संलग्न बिर्तामोड आसपासको क्षेत्रका कारोबारी जोगाउन स्थानीय सुरक्षा निकाय नै लागेको भन्दै ति निकायले प्रमुख जिल्ला अधिकारीसँग सहयोग मागेको खुलेको हो ।
औषधी र करछली गरी भित्राएका सामाग्री बरामद हुने क्रममा केरिङको काम गर्ने कारोबारी र आयातकर्ता जोगाउने गरी मिसिल तयार पारेर विभागको जिम्मा लगाएको आशङ्कामा इलाम र झापामा भएका कारोबारीमाथि राज्यका निकायले मिहिन अनुसन्धान थालेका हुन् ।
ति दुई सरकारी निकायले छानविन गर्ने क्रममा आयातकर्ता र केरिङमा संलग्नको पहिचान खुलेपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन स्थानीय सुरक्षा निकायले अपेक्षित सहयोग नगरेको भन्दै ति निकायका अनुसन्धान अधिकारीले प्रमुख जिल्ला अधिकारीको सहयोग मागेका हुन् ।
गत असोजमा इलाम र झापामा गत महिना भएको औषधी बरामदको घटनाको अनुसन्धान गर्ने क्रममा कारोबारमा संलग्न बिर्तामोड क्षेत्रका व्यवसायी , केरिङमा संलग्न कारोबारी र उनीहरूलाई संरक्षण अनि सहयोग गर्नेको पहिचान भएकाले पक्राउका लागि स्थानीय सुरक्षा निकायको असहयोग भएपछि सिडिओको सहयोग मागिएको विभागको विराटनगर स्थित कार्यालयका कामु प्रमुख संजिव शर्मा कट्टेल बताएका छन् ।
उनले कारोबारमा जोडिएकाको कल डिटेलबाट पूर्वमा भइरहेको औषधी आयातको अवैध खेलमा संलग्नको पहिचान भइसकेको र अनुसन्धान अन्तिम चरणमा पुगेकाले अन्य सरकारी निकायको समेत सहयोगमा अवैध कारोबार, करछली, अवैध सम्पत्ति आर्जन सम्मका मुद्दामा कानुनी कारवाही अघि बढाउने विभागले तयारी गरिरहेको जनाएका छन् ।
विभागको विराटनगर स्थित कार्यालयका प्रमुख कट्टेलले कारोबारमा जोडिएका, केरिङको काम गर्ने र औषधी आयात गर्ने व्यापारीको कल डिटेल , कारोबारको पूर्ण विवरण र बैंक खाता सम्मको विवरण विभागले अनुसन्धानका क्रममा जुटाएको समेत बताएका छन् ।
अवैध कारोबारमा संलग्न विरुद्ध कानुनी कारवाही अघि बढाउन उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गराउने तयारी भइरहेको र यसअघि पक्राउ पुर्जी जारी भईसकेकालाई पनि पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीको सहयोग मागिएको बताएका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पनि औषधी व्यवस्था विभाग र राजश्व अनुसन्धान विभागका अधिकारीसँग आफ्नो नियमित सम्पर्क भएको र अवैध कारोबार नियन्त्रण गर्ने विषयमा छलफल भइरहेको बताएका छन् ।
उनले सिमा क्षेत्रमा सकृय आफू मातहतका सुरक्षा निकायलाई अवैध कारोबार नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएको र राज्यका निकायले थालेको अनुशन्धानमा सहयोग गर्ने बताएका छन् ।
औषधी व्यवस्था विभागले जसरी नै राजश्व अनुसन्धान विभागले पनि सुरक्षा निकायबाट अपेक्षित सहयोग नभएको भन्दै अवैध कारोबार र करछलीका विषयमा प्रमुख जिल्ला अधिकारीसँग सहयोग मागेको संचारमाध्यम मार्फत सार्वजनिक भएको थियो ।
राजश्व अनुसन्धान विभागको इटहरी स्थित कार्यालयका प्रमुख तिर्थराज खनालले संचारमाध्यमसँगको कुराकानीकै क्रममा सुरक्षाकर्मीकै सहयोगमा तस्करी हुने गरेको बताएका थिए ।
गत असोज र गत महिना गरी झापा र ईलामबाट ठूलो परिमाणमा औषधी बरामद भएको थियो । इलाम जिल्लाको सुर्योदय नगरपालिका ३ बाट असोज १९ गते ४० लाख बराबरको अवैध रुपमा भित्र्याइएको औषधी बरामद भएको थियो । सो समयमा पनि केरिङ गर्ने र औषधी आयातकर्ता जोगिएका थिए ।
त्यसैगरी झापाको बुद्धशान्ति गाँउपालिका ४ बाट गत महिना मे १ च ६८३३ नम्बरको गाडी र त्यसका चालक सहित करिव ७० लाख मूल्य बराबरको औषधी बरामद भएको थियो । दुवै घटनामा केरिङ गर्ने र आयातकर्ता जोगाउने काम भएपछि विभागले औषधीको अवैध कारोबारमा संलग्नका विषयमा सुचना संकलन र अनुसन्धान अघि वढाएको थियो ।
राजश्व अनुसन्धान विभागले पनि झापा , मोरङ र सुनसरीमा पटक पटक बरामद भएका सामाग्रीको अनुसन्धानका क्रममा झापाकै व्यवसायी रहेको पाईएपछि निगरानी र अनुसन्धान थालेको थियो ।
पूर्वमा मौलाएको अवैध धन्दा र तस्करी रोक्न राज्यका दुई निकायले अुनशन्धान गरिरहेको समयमा सुरक्षा निकायको सहयोग भएन भनेर प्रमुख जिल्ला अधिकारीसँग सरकारी अधिकारीले नै सहयोग मागेको विषयले जिल्लाका सुरक्षा अधिकारी समेतको अवैध कारोबारमा संलग्नता रहेको आशंका गर्न थालिएको छ ।





































