काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेल रोगको औषधि नेपालमा ल्याएर बिरामीलाई वितरण गर्ने घोषणा गरेका छन् । नेपालमा विशेष गरी थारू समुदायमा सिकलसेल रोग बढी देखा पर्ने भएकोले उनीहरूको स्वास्थ्य सुधारका लागि यो कदम महत्वपूर्ण हुने उनको भनाई थियो । 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ईमानदार र लगनशील भई काम गर्ने नयाँ चिकित्सकहरुलाई सिकलसेल औषधि वितरणमा योगदान गर्न तयार हुन आह्वान गरे । उनले नेपालकै धर्तीबाट ऋषि चरकले स्वास्थ्य विज्ञानको थालनी गरेको स्मरण गर्दै निरोगी समाज निर्माण र बिरामीहरूको सुलभ उपचार प्रणाली स्थापना गर्न सरकार प्रतिवद्ध पनि जनाए । 

प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ्य संस्थाहरूमा चिकित्सक विद्यार्थीको कोटा वृद्धि गर्दै यस क्षेत्रमा सुशासन र प्रभावकारिता थप गर्न सरकारको दृढता प्रकट गरेका छन् । समारोहमा स्नातक तहका ६५७ विद्यार्थी दीक्षित भएका छन्।