काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादी पार्टीका उपाध्यक्ष अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न लचिलो भएको बताएका छन्। माओवादी केन्द्रको बिहीबार बसेको बैठकपछि संसद् खुलाउने विषयमा माओवादीले प्रयास गर्ने पार्टी प्रवक्तासमेत रहेका सापकोटाले बताएका थिए।
त्यसपछि प्रमुख सचेतक शाहीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सापकोटा पक्राउ पर्ने डरले माओवादी गिभ एण्ड टेकको अवस्थामा पुगेको टिप्पणी गरेका हुन्।
सापकोटामाथि हत्या अभियोगमा छानबिन माग गर्दै परेको रिटमा बुधबारमात्र सर्वोच्च अदालतले ‘उत्प्रेषणको आदेश जारी’ गरेको थियो।
माओवादीलगायत प्रमुख प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै जेठ १२ गतेदेखि संसद् चल्न दिएको छैन। शाहीले लेखक र सापकोटालाई बचाउने खेलमा माओवादी लचक बनेको शंका गरेका छन्।
शाहीको स्टाटस् यस्तो रहेको छ
माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न माओवादी लचिलो भएर तयार भएको देखिन्छ । गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने । सरकारले माओवादी नेताहरु अग्नि सापकोटा र सांसद सुर्यमान दोङलाई पक्राउ नगर्ने,गृहमन्त्रीको राजीनामाबाट पछाडी हट्यो माओवादी । शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो । अनि कसरी विधिको शासन हुन्छ अनि देशमा विधिको शासन छ भन्दै केही साथीहरू कराउँदै उफ्रिरहेका छन्। त्यही भएर भन्छु। अवस्था सुधार्न व्यवस्था सुधार गर्नैपर्छ।