म्याग्दी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल अब पुरानो राजनीतिक व्यवस्थामा फर्किन नसक्ने स्पष्ट पारेका छन्।
बुधवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र लामो राजनीतिक संघर्ष र जनताको बलिदानबाट स्थापित भएकाले यसबाट मुलुक पछाडि फर्कन नसक्ने बताएका हुन्।
"यो प्रणालीमा भएका कमजोरीहरू सच्याउँदै अघि बढ्नुपर्छ," दाहालले भने, "राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने गरी काम गर्नुपर्छ।"
उनले जनताका समस्या बुझ्न आफ्नै पहलमा गाउँ–गाउँ पुग्ने गरेको उल्लेख गरे। साथै, कालीगण्डकी करिडोरको निर्माण कार्य छिटो सम्पन्न गर्न आफूले आवश्यक सबै प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।